आज,
मलाई ढुंगा चिथोर्न मन छ
यी नंग्राले अनि यी दाँतले
रक्ताम्य हुने गरी नङ र गिंजाहरु,
भल बग्ने गरी सडकमा
उदांगो हुने गरी नसाहरु
तिनमा फिलिंगा उठ्ने गरी पीडाका
शिथिल हुने गरी मेरो चेतना
मलाई ढुंगा चिथोर्न मन छ
जब मानिसको मन ढुंगाभन्दा कठोर बन्छ,
जब न्यायको तराजुमा
अपराधीको नाम, दाम र प्रसिद्धि निर्णायक हुन्छ
जब न्यायधीशले अपराधीमा आफूलाई देख्छन्
अनि अवसादको कुण्डमा डुबाउँछन् पीडितलाई
जब न्यायधीश नांगै उभिन्छन्
र मुख छोप्न आदेश दिन्छन् अरुलाई
जब पीडितले मागेको न्याय दिन अस्वीकार गर्छन्
जब पीडकले माग्नसमेत लाज मानेको सुविधा दिन्छन्
जब समाजले गिल्ला गर्छ पीडितलाई
र देवता बनाउँछ अपराधीलाई
हो, आज मलाई ढुंगा चिथोर्न मन छ
चेतना शुन्य हुने गरी ढुंगा चिथोर्न मन छ ।
Discussion about this post
No posts
हाम्रा भावना मुखरित भएको छ। धन्यवाद!