नुन–तेल पुस्तकको एउटा अध्यायः जुनैद र मोइनुल
मोइनुल हकको हलचलविहीन शरीरमाथि छलांग लगाउँदै बिजोय बोनिया नामक आसामको सरकारी फोटोग्राफर र लठ्ठी बर्साउँदै एक प्रहरी, भिडियोको स्क्रिनसट । भिडियो यहाँ उपलब्ध छ ।
१.
लेख्न शुरु गरेको छैठौं वर्षमा पुस्तक तयार हुँदैे छ । सन्दर्भ सामाग्रीहरुको सुचीलाई अन्तिम रुप दिंदै गर्दा मैले सर्सर्ती समाचारहरुमा आँखा डुलाउँछु ।
भारतीय स्वतन्त्र मिडिया पोर्टल स्क्रोलमा एउटा समाचार छ, समाचारमा भिडियो छ । त्यो समाचार र भिडियो दक्षिण एसियामा शुरु हुन लागेको अन्धकार युगको बिगुलजस्तो लाग्छ मलाई ।
हाम्रो र छोराको पुस्ताको भविष्यबारे माथि मैले जति पनि चिन्ता व्यक्त गरें, त्यसको वातावरणीय वा प¥यावरणीय आयाम मात्रै हुने छैन, सामाजिक, सामुदायिक र साम्प्रदायिक आयामहरु पनि हुनेछन् भन्ने प्रमाण थियो त्यो सामाग्रीमा ।
भिडियोमा एक हुल प्रहरीहरु देखिन्छन्, केही राइफल बोकेका त केही डण्डा । भिडियोको शुरुदेखि नै चर्को होहल्लाबीच मकै पड्केझैं गोली चलेको आवाज आइरहन्छ ।
एकै छिनमा भिडियोको दायाँ हिस्सामा सडकको अर्कोपट्टिबाट क्यामेराको दिशामा भागदौड मच्चिएको देखिन्छ । शुरुमा दुई बर्दीधारी प्रहरीहरु दौडिन्छन्, तिनका पछाडि एक सेतो टिसर्ट र जिन्स पाइन्ट लगाएको युवक दौडन्छ । तीनै जनाको पछाडिबाट लठ्ठी उज्याउँदै आएजस्तो लाग्ने धोती–गन्जी लगाएको अधवैंशे व्यक्तिले उनीहरुलाई लखेटेको देखिन्छ ।
एकै छिनमा सिंगो प्रहरी बलको लाठी र गोली प्रहार त्यही एक जनामाथि हुन्छ । र ऊ ढल्छ ।
उसको शरीर अचल भएर पल्टेपछि प्रहरी यता उता छरिन थाल्छन् । उसको तल्लो छातीको गन्जीमा बनेको गोलाकार रगतको दागले त्यहाँ गोली लागेको संकेत गर्छ ।
त्यही बेला जिन्सधारी युवकले दौडँदै गएर उफ्रँदै अधवैंशेको अचल शरीरलाई लात्तीले बजाउँछ । अनि फेरि मुक्काले छातीमा हान्छ । एउटा प्रहरीले पनि लडेको शरीरलाई लाठीले हान्छ । अर्को प्रहरीले युवकलाई धकेल्दै त्यहाँबाट हटाउँछ ।
त्यसैबीच क्यामेराले पल्टिरहेको अधवैंशे मानिसको शरीरलाई अलि नजिकबाट देखाउँछ । ढलेको अधवैंशे मानिसले अन्तिम सास फेर्दा कहराएको जस्तो आवाज आउँछ । होहल्ला र फाटफुट गोलीको आवाजबीच त्यो आवाज उसकै भएको यकिन गर्न कठिन छ तर भिडियोको दृश्यमा पनि पेट हेर्दा सास चलिरहेको जस्तो देखिन्छ ।
त्यही बेला कसैले उसलाई ससानो लाठीले झटारो हान्छ । एकछिनमा फेरि जिन्सधारी युवकले लामो छलाङ लगाएर उफ्रंदै अधवैंशेको छातीमा लात्ती बजार्छ । त्यसपछि फेरि छातीमा मुक्का बजार्छ ।
त्यहाँसम्म भिडियो हेर्दा लाग्छ जंगली कुकुरहरुको झुण्डले ठूलो कष्टले कुनै ठूलो जनावर मारेको छ । अनि जनावरको लासलाई लुछ्दै ऊ ज्युँदो छँदा उसले आफुहरुलाई पु¥याएको चोटको बदला लिइरहेको छ ।
समाचारहरुका अनुसार त्यस्तो आक्रमणमा पर्ने अधवैंशे व्यक्तिको नाम थियो मोइनुल हक । त्यो आक्रमणलगत्तै उनले त्यतै कतै अन्तिम सास फेरे ।
मोइनुल हकको त्यस्तो भयानक मृत्युको दृश्य हेरेर म स्तब्ध भएँ । तर आजको भारतमा त्यस्तो घटना भएकोमा मलाई अनौठो चाहिं लागेन । किनकि मैले त्यसको केही वर्ष अगाडि भएको त्यस्तै अर्को हत्याकाण्डको वीभत्स दृश्यबारे विस्तारमा पढेको थिएँ ।
२२ जुन २०१६ । इदका लागि किनमेल गरेर दिल्लीबाट गाउँ फर्कंदै थिए किशोर जुनैद खान, उनका भाइ र दुई साथीहरु ।
रेलमा सिटको विषयलाई लिएर अरु यात्रुहरुसित केही भनाभन भयो । भारतको रेलमा दैनिक हजारौं त्यस्ता विवादहरु भइरहन्छन् । तर उनीहरुले धार्मिक पहिचान हुने पोशाक र टोपी लगाएकाले विवादले अचानक साम्प्रदायिक रङ लियो ।
उनीहरुलाई राष्ट्रद्रोही भन्दै ‘पाकिस्तान जाऊ’ भनेर लल्कारे हिन्दु यात्रुहरुले ।
बिस्तारै उनीहरुमाथि हातपात हुन थाल्यो । भीडबाट अन्धाधुन्ध लात्ती र मुक्का बर्सिन थालेपछि उनीहरु निसास्सिए । रेल रोकिएको बेला उनीहरु झर्न खोजे तर भीडमा झर्न सकेनन् । उनीहरुमाथि सामुहिक हिंसा चुलिंदै गयो ।
त्यसै बीच भीडको कसैले जुनैदलाई चक्कु हान्यो । उनी रगताम्य भएर ढले ।
अर्को स्टेशन आएपछि आक्रमणकारीहरुले भेडाबाख्राको शरीर झैं जुनैदको शरीलाई घचेटेर खसालिदिए । उनले त्यतै कतै अन्तिम सास फेरे ।
मैले यो पुस्तक लेख्न शुरु गर्ने बेला जुनैद खानको हत्या भयो, पुस्तकलाई बिट मार्दै गर्दा मोइनुल हकको । बीचमा भारतमा पहलु खानलगायत धेरै मुसलमानहरु त धार्मिक आस्थाका कारण मारिए नै, नजिब अहमदहरु गायब पारिए ।
अनि सत्ता संस्थापनमाथि प्रश्न उठाउने गौरी लंकेशहरु मुसलमान नभए पनि मारिए ।
धेरै हत्याराहरुले आफ्ना कुकर्मको भिडियो बनाएर सामाजिक सञ्जालमा समेत हाले । ती हत्याका प्रमाणहरु विश्वभर पुगे ।
तर न्यायको कठघरासम्म पुग्दा पीडकहरुको सट्टा उल्टै पीडितहरु अपराधी बनाइए । प्रहरीले मानिस मारिएको ठाउँमा गएर अपराधीहरु पक्रिनुको सट्टा फ्रिजमा राखिएको मासुको फरेन्सिक परीक्षण गर्न पठायो ।
‘बौद्धिक’हरुले पीडितलाई दोषी प्रमाणित गरेर किताब लेखे, सिनेमाहरु बनाए । सत्ताबाट तलब थाप्ने इन्टरनेटको ट्रोल सेना र टेलिभिजनका भक्तहरुले अल्पसंख्यक र आलोचकहरुमाथि आक्रमण गरेर करिअर बनाए ।
सारमा, न्याय म¥यो । बहस र विमर्शहरु विषाक्त बने । व्यक्तिको मानवता निरर्थक बन्यो, उसको सम्प्रदायगत पहिचान सबै थोक भयो ।
जुनैद खानको मृत्यु आजको भारतमा जनस्तरमा धार्मिक विद्वेष र हिंस्रकता कति संस्थागत भइसकेको छ भन्ने प्रमाण हो ।
अनि मोइनुल हकको जीवन चाहिं भारतीय उपमहाद्वीपको त्रासद वर्तमानले कसरी भयावह भविष्यलाई जन्म दिंदैछ भन्ने कुराको प्रमाण हो ।
२.
मोइनुल हक र उनीजस्ता हजारौं गाउँलेहरु र तिनका पुर्खाहरुमध्ये धेरै कुनै बेला पूर्वी बंगालमा बस्थे । भारत विभाजनका बेला त्यो जमिन पूर्वी पाकिस्तानमा प¥यो, उनीहरु पाकिस्तानी बने । १९७१ को स्वतन्त्रता संग्रामपछि त्यहाँ बंगलादेश बन्यो, उनीहरु बंगलादेशी बने ।
तर समाजको भुइँ तहमा हुनेहरुका लागि फेरिएको राष्ट्रियताले कुनै अर्थ राखेन । न त हातमुख जोड्ने दुखले नै कहिल्यै छाड्यो । जसरी पुस्तौंदेखि हाम्रा बाजेहरुलाई त्यो दुखले छाडेको थिएन ।
ती दुखी मानिसहरुमध्ये केही ढाकाजस्ता ठूला शहरमा मजदुर बनेर छिरे । केही भारतसितको सीमा छिचोलेर आसामलगायत पूर्वोत्तर भारतका राज्यहरुमा छिरे । अरु केही बर्माको रखाइन प्रान्तमा गएर उतै बस्ती बसाए ।
जता गए पनि उनीहरुलाई भोकले नै डो¥यायो, जसरी हाम्रा हजुरबा–हजुरआमालाई नेपालदेखि बर्मासम्म डो¥याएको थियो ।
हाम्रा हजुरबा–हजुरआमा, जेठाबा र धेरै गाउँलेहरु बर्मा वा भारतमा गएर केही कमाएपछि लखेटिएर वा स्वेच्छाले गाउँ फर्के । तर मोइनुल हकहरुका धेरै पुर्खाका लागि फर्केर गाउँमा जान केही पनि बाँकी थिएन ।
त्यसैले जहाँ गए पनि तिनले दशनंग्रा खियाएर, पसिना बगाएर हातमुख मात्रै जोडेनन्, पुस्तौंसम्म मेहनत गरेर ससाना झुप्रा जोडे, पाखो ओगटेर भए पनि सानोतिनो खेती गरे । कालान्तरमा भारतको सीमाभित्र हुने धेरैले भारतको रासन कार्ड र आधार कार्डलगायतका कागजपत्र पनि बनाए ।
आप्रवासीहरु जहाँ पुगे पनि रैथानेहरुसित अक्सर घर्षण र द्वन्द्व सिर्जना हुन्छ । पूर्वोत्तर भारतमा पनि त्यो भयो, सशस्त्र विद्रोहहरु समेत मौलाए । राज्यले तिनलाई दबाउन खोज्यो । रक्तपात मच्चियो ।
तर सन् २०१४ मा नरेन्द्र मोदीको सरकार बनेसँगै आसाम लगायत पूर्वोत्तर भारतमा द्वन्द्वको प्रकृति फेरिन थाल्यो । केन्द्रदेखि राज्यहरुसम्म मुसलमान समुदायलाई सके निषेध र विस्थापित गर्ने, नसके व्यवहारतः दोस्रो दर्जाको नागरिक बनाउने संस्थागत अभियान चल्यो । सत्ता संस्थापनमा रहेका धेरैले मुसलमानहरुलाई पाकिस्तान पठाउने धम्की दिन थाले ।
आसामका मोइनुल हकजस्ता मुसलमानहरु, जो गरीब र आवाजविहीन थिए, तिनलाई ‘अवैध आप्रवासी’ घोषणा गरेर सिंगो भारतको दरिद्रताका लागि जिम्मेवार देखाउँदै दानवीकरण गर्नु असाध्य सजिलो काम भयो । भारतका सत्तारुढ दलका अध्यक्षले खुलेआम उनीहरुलाई भारतमा धोद्रो लगाउने ‘धमिरा’ घोषित गरेका छन् ।
अन्ततः भारतीय जनता पार्टीको हिन्दुत्ववादी राष्ट्रवाद र आसामीलगायत पूर्वोत्तर भारतका रैथानेहरुको क्षेत्रीय राष्ट्रवाद एकाकार भए ।
अनि दुवैको निशानामा परे निमुखा आप्रवासीहरु र तिनमा पनि मुसलमानहरु ।
लिखापानीदेखि सिंगो आसाम पार गरेर जुन बस्तीहरु पार गर्दै हाम्रा जेठाबा र इन्द्रबहादुर राइको कथाकी अमर पात्र जयमाया आफ्नो थातथलो फर्केका थिए, त्यहाँ उस बेला एक नासको गरिबी र पछौटेपन थियो । सबै सम्प्रदायका मानिसहरुलाई बाढीपहिरोदेखि भोकमरीसम्मले एकनासले सताउँथे ।
ऊबेला पनि त्यहाँ रैथाने र आप्रवासीहरुबीच टकराव हुन्थ्यो तर राज्यले निषेधाज्ञा लगाएर भए पनि हिंसालाई रोक्थ्यो । अवस्था सामान्य हुन्थ्यो ।
तर अब भने ती बस्तीहरु नागरिकहरुको स्तरीकरण र परायाकरणको नाजीवादी परियोजनाका भारतीय प्रयोगशाला बनिसकेका छन् ।
पहिलेको भोकमरी र अभावमा अब धार्मिक विद्वेष र विभेद थपिएका छन् । पहिले जहाँ रैथाने र आप्रवासीबीच छिटपुट दंगा हुन्थे र प्रहरीले कफ्र्यु लगाएर तिनलाई सामसमु पा¥थ्यो, अब त्यहाँ प्रहरी बहुसंख्यक वा बलियो समुदायका दंगाकारी समुहको सशस्त्र दस्ता बनेको छ ।
अनि हिटलरका ‘कन्सन्ट्रेसन क्याम्प’लाई सम्झाउने गरी आसामका ठाउँ ठाउँमा ‘डिटेन्सन सेन्टर’हरु खडा हुन थालेका छन् जहाँ सत्ता संस्थापनले पन्छाउन खोजेका नागरिकहरुलाई अन्यत्र लखेट्नुअगाडि थुन्न सकियोस् ।
एकातिर पहिल्यै भोकमरीको ढिकमा मुस्किलले खडा भएका मोइनुलहरुलाई राज्यले ढिकबाट धकेलेर खसालिदिने धम्की दिइरहेको थियो । अर्कोतिर उर्लंदो ब्रम्हपुत्रले उनीहरुका झुप्राहरुको नामोनिशान नरहने गरी किनारको जमिनै बगाएर लग्यो ।
यसरी जो राज्य र बहुसंख्यक समु्दायको निशानामा थिए, प्राकृतिक प्रकोप र जलवायु संकटको पहिलो निशाना पनि उनीहरु नै बने । पुस्तौं लगाएर ओगटेको थोरै जमिन र सानो झुप्रोलाई ब्रम्हपुत्रले बंगालको खाडीमा पु¥याएसँगै उनीहरुसित भोको पेट र नांगो आङबाहेक केही बाँकी रहेन ।
यसैबीच राज्यले मार्च २४, १९७१ भन्दा अगाडि आसाममा रहेको प्रमाणित गर्न सक्ने मानिसहरुलाई मात्रै त्यहाँका नागरिक मान्ने र बाँकीलाई धपाउने अभ्यास शुरु ग¥यो । नेशनल रजिस्टर अफ सिटिजन्स वा एनआरसी भनिने त्यो अभ्यासबाट आसामका १९ लाख मानिसहरु रातारात देशविहीन बनाइए ।
यो पुस्तक सकिने बेलासम्म ती १९ लाखको भागाभाग र बिचल्ली चलिरहेको छ ।
मोइनुल हक र उनको समुदायका हजारौं परिवारको गल्ती थियो राज्यले एनआरसी अन्तर्गत खोजेका कागजपत्र बुझाएर भारतीय आसामका नागरिकको सुचीभित्र पर्नु । एनआरसीमार्फत चाहेझैं अनागरिक बनाउन नसकेपछि राज्य संयन्त्र भीमकाय डोजरहरु लिएर उनीहरुलाई लखेट्न बस्तीमा पुग्यो ।
राज्यको आरोप थियो गैरकानुनी बसोबास ।
ब्रम्हपुत्रको किनारबाट लखेटिएर कसै गरी जंगलको छेउमा झुपडी बनाएर बसेका गाउँलेहरुले विनासुचना घर भत्काउन आएको जत्थाविरुद्ध प्रदर्शन गरे । प्रहरी र डोजर पछि हटेनन् र झडपको स्थिति सिर्जना भयो । त्यसै क्रममा मोइनुल हक माथि उल्लिखित भिडियोमा देखाइएझैं प्रहरीहरुमाथि जाइलागेका हुन् ।
उनको एउटा लठ्ठी वा हँसियाले पुलिसको जत्थालाई हराएर बस्ती जोगाउन नसकिने कुरा शायद उनलाई थाहा थियो । तर जीवनभर अभाव, भोकमरी, ताडना र अत्याचारबाहेक केही नखेपेका उनले त्यति बेला झोकमा आँखा देखेनन् र अतिक्रमणकारीहरुमाथि जाइलागे ।
भन्छन् नि, निर्धाको हात छिटो चल्छ ।
उनलाई निस्तेज पार्न प्रहरीका केही लाठी काफी हुन सक्थे । उनको हातमा हँसिया नै थियो भने पनि खुट्टाको वरिपरि एउटा गोली हान्नु नै उनलाई नियन्त्रणमा लिन काफी थियो । उनलाई पक्रेर दोष अनुसारको दण्ड दिन सकिन्थ्यो ।
तर राज्यको नियत उनलाई दण्ड दिनुभन्दा पनि उदाहरण बनाउनु थियो । मध्ययुगमा शत्रुपक्षका कमाण्डरलाई मारेपछि तिनको घाँटी छेदन गरेर टाउको भालामा अड्याएर चौबाटोमा राख्ने चलन थियो, ता कि अरुले आफ्नो विरोधमा आवाज उठाउन नसकुन् ।
मोइनुल हक दिनदहाडै क्यामेराका अगाडि मारिए । उनको मरणासन्न शरीरमा झटारो, लठ्ठी र लात्ती बर्सिए । उनको वीभत्स हत्याको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भयो, बनाइयो ।
उनीमाथिको हरेक प्रहार गर्नेहरुलाई थाहा थियो, ती प्रहारका फुटेजहरु मिडिया र सामाजिक सञ्जालमा ‘भाइरल’ हुनेछन् । तर त्यस्तो अमानवीय र आपराधिक करतुत गरे वापत दण्डित हुनु पर्ने छैन भन्नेमा उनीहरु उत्तिकै आश्वस्त थिए ।
भारतमा चलेको झण्डै दशक लामो साम्प्रदायिकताको विष खेती अब यति मौलाइसकेको छ कि बहुसंख्यक हिन्दु समुदायका धेरै मानिसहरुका लागि मानवताभन्दा माथि हिन्दुत्व पुगेको छ ।
परिणामः गाइको रक्षाका नाममा मानिस मार्नु त्यहाँ सामान्य बनेको छ । जो त्यस्ता हत्यामा संलग्न हुँदैनन्, उनीहरुबीच पनि त्यस्तो हिंसाको स्वीकृति बढ्दो छ ।
टोलदेखि प्रधानमन्त्री कार्यालयसम्मका बहुसंख्यक समुदायमा पर्ने धेरैले शायद मोइनुल हकको ढलेको शरीरमा लात्ती बर्साउने युवकमा आफूहरुलाई देखे ।
अनि फरक समुदायको भएकै कारण गोली खाएर ढलेका हकप्रति मानिसका रुपमा समानुभुतिको सानो अंश पनि अनुभव गर्न सकेनन् ।
वैरी भए पनि ढलेको बेला उठाउने, जोसुकैको भए पनि लासका अगाडि शिर निहुराउने अनि बदनाम वा नारकीय जीवन बिताउने मानिसको समेत मरेपछि क्षणिक रुपमा भए पनि मर्यादा राखिदिने पुरानो अभ्यास हो हाम्रो पूर्वीय सभ्यतामा । धर्मरक्षाका नाममा आजको भारतमा त्यति कुरा पनि हराउँदो छ ।
समानुभुति वा ‘एम्प्याथी’ । प्रेम । करुणा । मानवता । यी सबै अवधारणा अहिले त्यहाँ मृत्युशैयामा छन् ।
न गरिबीले मोइनुल हकहरुलाई उठिवास गराएर जन्मथलोबाट उठाएको कुरा, न त ब्रम्हपु्त्रले उनीहरुको पुस्तौंको आर्जन बगाइदिएको कुरा । न १९७१ अगाडि नै भारतमा बसोबास गरेकाले उनीहरुको नाम एनआरसीमा सुचीकृत भएको कुरा, न त्यो सुचीमै नपरे पनि संविधानले अँगालेको कुनै पनि मानिस बाँच्न पाउने अधिकारको कुरा ।
न मोइनुलजस्ता श्रमिकहरुको श्रमकै कारण भारतीय अर्थतन्त्रको ठूलो हिस्सा धानिएको र व्यवसायहरु मौलाएको कुरा ।
हजारौं परिवारसहितको मोइनुल हकको गाउँलाई नै नामेट पारेर भारतमा ‘हिन्दु राष्ट्र’को अभ्यास शुरु गर्न गएको राज्य संस्थापनका डोजरहरुलाई यीमध्ये कुनै पनि कुराले फरक पारेन ।
उल्टै त्यो भिडियोबारे व्यापक चर्चा भएपछि आसामका नवनियुक्त मुख्यमन्त्रीले पत्रकार सम्मेलन गरेर मोइनुल हकलगायत अरु दुई प्रदर्शनकारीलाई त्यसै गरी मार्ने प्रहरीहरुको तारिफ गरे । शायद अरुको पालो मिचेर उनीहरुको बढुवा पनि भयो ।
समय र कठिनाइले ३० वर्षको उमेरमै अधवैंशेजस्तो बनाएका मोइनुल हक मरेसँगै उनका बाबुआमा र तीन बच्चा अनाथ भए ।
ती अनाथहरु गाउँबाट खेदिएपछि घरका न घाटका भए । लगत्तै आसाममा घनघोर वर्षा भयो ।
यता उनीहरुसहित सबै विस्थापित गाउँलेहरु घुँडासम्म पानी आउने ठाउँमा रात काट्न बाध्य भए, उता मोइनुल हकको शरीर चिसो मूर्दाघरमा बन्द भएर निरर्थक पोस्टमार्टम जाँचको प्रतिक्षा गरिरह्यो ।
मोइनुल हक मारिएको त्यो दिनमा उनका तीन अनाथ बालबालिका लगायत दशौं हजार मानिसहरुको वासस्थान र भविष्य दुवै खोस्यो भारतीय राज्यले ।
३.
कुनै बेला भारतीय गीतकार तथा व्यंग्यकार वरुण ग्रोवरलाई जलवायु परिवर्तनबारे तपाइँको के विचार छ भनेर सोधिएको थियो ।
जवाफमा उनले भनेका थिएः जलवायु परिवर्तन सबै समस्याको जननी पनि हो र समाधान पनि हो ।
उनको व्याख्या थियोः जलवायु संकट बढ्दै गएसँगै भोकमरी बढ्छ, बेरोजगारी बढ्छ, असुरक्षा बढ्छ । मानिसले त्यसका लागि जलवायु संकटलाई हैन पराइ देश, समाज, समुदाय वा सम्प्रदायलाई त्यसको दोषी देख्न थाल्छन् । द्वन्द्व र हिंसा बढ्छ, अव्यवस्था सिर्जना हुन्छ । असली समस्याको समाधानचाहिं हुँदैन बरु झन् गहिरिंदै जान्छ ।
तर एक दिन संकट यति चुलिन्छ, यति ठूला विपत्तिहरु आउँछन् कि हामी सबैको मृत्यु हुन्छ र दशौं हजार वर्ष लगाएर बनेको मानव सभ्यता अन्त हुन्छ । सँगै यो सभ्यतासँगै हुर्किएका भोकमरी र हिंसा लगायत यावत् समस्याहरुको पनि समाधान हुन्छ ।
जुनैद खानलाई रेलभित्रको भीडका जो मानिसहरुले वीभत्स हत्या गरे वा रमिते बने, तीमध्ये हरेक मानिसको जीवनमा अनेक समस्याहरु थिए ।
धेरै जसोको घरमा बेरोजगारी थियो । रोजगार हुनेहरु काम र सुविधाबाट सन्तुष्ट थिएनन् । कतिले भनेको जस्तो शिक्षा लिन वा सन्तानलाई दिलाउन सकेका थिएनन्, कतिले चाहेको जस्तो वैवाहिक सम्बन्ध स्थापित गर्न सकेका थिएनन् ।
धेरैले भविष्य अहिलेभन्दा उज्यालो हुने वा आफ्नोभन्दा सन्तानको पुस्ता सम्पन्न हुने बाटो देखिरहेका थिएनन् ।
खेती गर्नेहरुले फसलको मुल्य पाएका थिएनन् । जमिन माथिको वायु सासै फेर्न नमिल्ने गरी प्रदुषित भइसकेको थियो, जमिन मुनि पानीको तह तान्नै नमिल्ने गरी धस्सिएको थियो । जमिनको मरुभुमिकरणसँगै किसानहरुबीच आत्महत्याको लहर चलेको थियो ।
सबैको अवचेतनमा असन्तोषको हुण्डरी चलेको थियो तर त्यसले कुनै निकास पाउन सकेको थिएन ।
उनीहरुको वरिपरि भीड थियो, पसिनाको गन्ध थियो, फोहर थियो, दिशापिसाबको दुर्गन्ध थियो । एक छिनलाई शितलिन मिल्ने रुखहरु थिएनन्, टहलिनलाई पार्कहरु थिएनन् । आपतविपत पर्दा भर पर्न सकिने पारिवारिक, सामाजिक वा राष्ट्रिय संस्था वा संरचना थिएनन् ।
शारीरिक वा मानसिक रोग लाग्दा उपचार गर्न जाने सुलभ अस्पताल थिएनन् । कुनै बौद्धिक वा दार्शनिक विषयवस्तुमा भुल्नलाई त्यस्ता बहस हुने अड्डाहरु थिएनन् ।
थिए त खाली रातदिन साम्प्रदायिकताको विष ओकल्ने टेलिभिजन च्यानल र सामाजिक सञ्जालहरु । सुचनाका ती स्रोत भन्थेः भारत वर्षका तमाम समस्याका स्रोत भनेकै अल्पसंख्यक मुसलमानहरु हुन् जसले बहुसंख्यक हिन्दुहरुबाट रोजगारीदेखि बेहुलीहरुसम्म खोसिरहेका छन् र हिन्दु सभ्यतामाथि खतरा सिर्जना गरिरहेका छन् ।
भारतका झण्डै एक अर्ब हिन्दुहरुको ठूलो हिस्सा यस्ता सुचनाको महासागरमा डुबुल्की लगाइरहेको बेला जब जुनैद खानको सानो समुहसित रेलका सिटबारे विवाद भयो, त्यो विवादले झिल्कोका रुपमा काम ग¥यो, विस्फोटका लागि इन्धन त दशकौंदेखि भीडका सबैको मस्तिष्कमा खचाखच भरिएकै थियो ।
जुनैदमाथि लात्तीदेखि छुरा प्रहार गर्ने सबैले जीवनका यावत् असन्तुष्टि र तिनबाट सिर्जित हुने क्रोध त्यहीं पोखे । आफ्नो मुक्ति वा उद्धार त्यहाँ नदेखे पनि अन्त कतै पोख्न नमिल्ने भँडास पोख्न मिल्ने ठाउँका रुपमा जुनैदको शरीरलाई भेटाए ।
मोइनुल हकको हत्या भएको पूर्वोत्तर भारतको त हिसाबकिताब झनै सरल छ ।
स्थानीय राष्ट्रवाद भन्छः बाहिरिया आएर लुटेर आदिवासीलाई कंगाल बनाए । सत्ता संस्थापन भन्छः मुसलमान आएर जमिन कब्जा गरेर बर्बाद बनाए ।
दुवैको साझा आवाज बन्छः त्यो क्षेत्रको गरिबी, अभाव र पछौटेपनको कारण आप्रवासी मुसलमान जिम्मेवार हुन् अनि तिनलाई लखेट्नासाथ त्यहाँ समृद्धि फर्कन्छ ।
जबकि यथार्थमा जलवायु संकटले समुद्रको सतह बढाएर किनाराका शहरहरु डुबाउँदैछ, हिमनदीहरु सुकाएर पिउने पानीको स्रोत मेटाउँदैछ । जमिनमुनिको पानीको तह वर्षेनी कैयौं मिटरका दरले भासिंदै गएर खेतहरु मरुभुमि बन्दै छन् । आँधीहरुले एकाध घण्टामा खरबौंको क्षति गर्दैछन् । बाढी र पहिरोले निमेषभरमा बस्तीका बस्ती बगाएर सर्यौंको ज्यान लिंदै छन् ।
त्यसमाथि राज्यदेखि संघसम्मका सरकारहरुका गलत आर्थिक नीति, प्रणालीमा व्याप्त सुस्तता र भ्रष्टाचार अनि तीव्र रुपमा गहिरिंदो जलवायु संकटसित जुध्न आवश्यक कल्पनाशीलताको अभावले ती समस्या झन् जटिल हुँदैछन् ।
कुनै जादुको छडी घुमाएजसरी तिनको समाधान सम्भव छैन । त्यस्ता समस्या रहुन्जेल सत्तामा हुने कुनै पनि पार्टी मतदाताको रोषको शिकार बन्ने र अर्को चुनावपछि सत्ताबाट बाहिरिनु पर्ने सम्भावना छँदैछ ।
यो सब बुझेको छट्टु सत्ता संस्थापनले जानाजान आम मानिसको ध्यान मोइनुल हक र जुनैद खानजस्ता निर्दोष अल्पसंख्यकहरुतिर यसरी सोझाइदिएको छ कि बहुसंख्यक समुदाय आफ्ना सारा समस्याहरुको जड अर्को समुदायमा देख्न अभ्यस्त हुँदैछ । परिणामः बहुसंख्यक समुदायका मानिसहरु सत्ताको हरेक नालायकी, भ्रष्टाचार र अक्षमताप्रति आँखा चिम्लिन तयार छन् ।
राम्रो रोजगारी र सुविस्तापूर्ण भविष्यको सपना देख्नुपर्ने युवाहरु जब अर्को समुदायलाई हिंसापुर्वक भए पनि निस्तेज नपारी आफ्नो भविष्य छैन भन्ने भाष्यतिर लहसिन्छन्, सत्ताले उनीहरुको मन र चुनाव जित्नका लागि रोजगारी सिर्जना गर्ने लेठो नै गर्नु पर्दैन ।
कर्तव्यच्युत पत्रकारहरु र ‘ट्रोल’ सेनाका लागि ससानो बजेट छुट्याएर उनीहरुमा अर्को समुदायप्रतिको आक्रोश र बदलाभावको पारोलाई निश्चित तहभन्दा तल झर्न नदिने हो भने सत्तामा हुनेहरुले अर्को चुनाव हार्ने भय व्यहोर्नै पर्दैन ।
यसरी आजको भारतमा बहुसंख्यक समुदायका धेरै मानिसका लागि शिक्षा, स्वास्थ्य, रोजगार र जीविकाका, आत्मसम्मान र न्यायका मुद्दा चुनावी एजेण्डा बन्न छाडिसकेका छन् । तिनको ठाउँ लिएको छ अर्को समुदाय वा छिमेकी देशविरोधी ‘राष्ट्रवाद’ले ।
यी दुवै हत्या प्रकरण हेरेपछि मलाई लागेको यत्ति होः जलवायु संकट गहिरिंदै गएसँगै समाजमा जति अभाव र भोकमरी गहिरिनेछ, यस्ता हत्याहरुको संख्या पनि बढ्दै जानेछ । किनकि सत्ता संस्थापनका लागि तिनको आवश्यकता पनि बढ्दै जानेछ ।
४.
नेपालमा पूर्वतिर नजिकै रहेको बंगालको खाडीतिरबाट मनसुन आउँछ । हिउँदमा पश्चिमको अरब सागरबाट आएको वायुले वर्षा गराउँछ । तर मूलतः राजनीतिक अर्थ राख्ने ‘दक्षिणी वायु’बारे पनि नेपालमा बारम्बार चर्चा हुन्छ ।
भौतिक रुपमा नेपालमा विश्वकै उच्च वायु प्रदुषण हुनमा दक्षिणका खेत र खानीबाट आउने धुवाँको भुमिका छ भनिन्छ । तर मेरा लागि त्योभन्दा ठूलो चिन्ताको विषय बनेको छ दक्षिणबाट नेपाल छिर्ने विषाक्त वैचारिक र राजनीतिक वायु ।
यो त्यस्तो राजनीतिक वायु हो जसले नेपालमा पनि मानिसहरुलाई धर्म वा सम्प्रदायका हिसाबले तहीकरण गर्न खोज्छ ।
त्यो वायुले राजनीतिज्ञदेखि आम नागरिकसम्मलाई अमानवीय र नश्लभेदी बनाइदिन्छ । जुनैद खान र मोइनुल हकहरुलाई धार्मिक विश्वासकै आधारमा नागरिकको कित्ताबाट हटाएर राष्ट्रद्रोही र धमिरा बनाइदिन्छ ।
भाग्यवश अहिलेसम्म त्यो वायुले मानवतालाई निस्तेज बनाएका नेपालीहरुको संख्या असाध्य झिनो छ । मुख्य दलका मुख्य नेताहरुमध्ये केहीले धर्मलाई चुनावी राजनीतिको वैशाखी बनाउने प्रयास गरेका छन् तर जतिसुकै भ्रष्ट र अकर्मण्य भए पनि कुनै समुदायलाई दबाएकै वा खसालेकै भरमा चुनावमा भोट माग्ने दुस्साहस गरेका छैनन् ।
कम्तीमा पनि अहिलेसम्म ।
तर समयसँगै मानिसहरु बदलिन्छन् । मतदाताका प्राथमिकता अनि पार्टी र नेताहरुका चुनावी एजेण्डाहरु पनि फेरिन्छन् । भारतीय राजनीतिमा भाजपाको धमाकेदार र दिगो सफलतासँगै त्यहाँको राजनीतिक प्रयोग यता दोहो¥याउन लालायित हुनेहरुको संख्या नेपालमा बढ्दो छ ।
अर्कोतिर नेपाललाई भारतकै बाटो हिंडाउने भारतीय सत्ता संस्थापनको इच्छा पनि कसैबाट लुकेको छैन ।
यसरी एकतिर मेरो पुस्ताले छोराको पुस्तालाई सासै फेर्न कठिन हुने विषाक्त भौतिक वायुमण्डल छाडेर जाँदैछ । विषाक्त रसायनले लैश नभएको पानी, जमिन र अन्न पाउन अब झण्डै असम्भव भएको छ ।
अर्कोतिर अर्को सम्प्रदायको मानिसको अस्तित्व निषेध गर्ने वैचारिक प्रदुषण तीव्र गतिमा फैलंदो छ ।
एकतिर हजारौं वर्षदेखि हिन्दुहरुले ‘गंगा माता’ भनेर पूजा गर्ने गरेको गंगा नदी, जसले अरब जनसंख्या रहेको सभ्यतालाई धानेको छ, दैनिक त्यसमा मिसिने लाखौं टन औद्योगिक र अन्य विषका कारण विषाक्त बनेको छ ।
अर्कोतिर काशी वा बनारसका घाट र मन्दिरहरु, जहाँ हाम्रा पुर्खा शिक्षा र मुक्तिका लागि शरण पर्थे, वैराग्यलाई अँगालेर जीवनका आखिरी वर्षहरुमा अध्यात्मको खोजी गर्थे, आज ती घाट र मन्दिरहरु मानवद्वेषी साम्प्रदायिक राजनीतिको छायाँमा पर्न अभिशप्त छन् ।
वनारसका ती चौतारी जहाँ बसेर कुनै बेला पाँच महिनाको मलाई च्यापेर आमाले बालाई पर्खेर बस्नुभएको थियो, ती चौतारीहरुमा अहिले शायद गौ–भिजिलान्तेहरुले कसरी गाइका नाममा मानिस मार्ने भनेर योजना बनाउँछन् ।
यसरी विषले सिञ्चित वायु, जमिन र जलमा अहिले मिसिइरहेको छ मानिस मानिस बराबर हुन् भनेर स्वीकार्न नसक्ने विषाक्त वैचारिक वायु ।
भौतिक र मानसिक संसारका यी दुवै खाले विषबाट सन्ततिलाई जोगाउनु सम्भवतः मेरो पुस्ताको सबैभन्दा ठूलो चुनौती हो ।