प्रेम के हो, के हैन?
विवाह के हो? यो प्रश्नको मोटामोटी सबैलाई चित्त बुझ्ने उत्तर तयार पार्नु सम्भव छ । तर ‘प्रेम के हो?’ भन्ने प्रश्नको सबै वा धेरैजसोलाई समेत चित्त बुझ्ने जवाफ दिनबाट ठूल्ठूला साहित्यकार र दार्शनिकसमेत अहिलेसम्म चुकेका छन् । जो यस विषयमा आफ्नो धारणा दिन्छन्, अक्सर उनीहरुले समेत आफूले दिएको प्रेमको परिभाषा ‘सर्वमान्य नहुन सक्ने’ भनेर स्वीकारेका हुन्छन् । हामी आम मानिसका लागि प्रेमसँग रोमान्टिक भावना अनिवार्य रुपले जोडिएको हुन्छ । जुन सम्बन्धमा दुई जना एक–अर्काभित्र हराउने गरी नजिक नहोउन्, त्यस्तो सम्बन्ध पनि के प्रेम? अक्सर हामीलाई त्यस्तै लाग्छ ।
तर यो निबन्धको चुरो विषय त्यस्तो धारणाको ठ्याक्कै विपरित प्रेमलाई परिभाषित गर्ने एक दिवंगत अमेरिकी मनोरोग विशेषज्ञ मोर्गन स्कट पेकको अवधारणा हो । मैले २०१६ मा पढेका केही उल्लेख्य किताबहरुमध्ये उनको १९७८ मा प्रकाशित तर १९८४पछि मात्रै ‘बेस्टसेलर’ बनेको र अहिलेसम्म करोडौं प्रति बिकिसकेको विश्वविख्यात पुस्तक ‘द रोड लेस ट्राभल्ड’ एक थियो । पुस्तकमा आफ्नो दशकौंको डाक्टरी अभ्यासको अनुभव समेट्दै व्यक्तिको मानसिक विकास, त्यसमा आउन सक्ने समस्याहरु र तिनलाई समाधान गर्दै जाने स्वस्थ मानसिक अभ्यासबारे आम पाठकले बुझ्ने गरी लेखिएको छ । त्यस्तै पुस्तकमा पेकले प्रेम र विवाह दुवै शीर्षकमा धेरै विचारोत्तेजक धारणाहरु राखेका छन्, जुन समयसँगै पुराना नहुने खालका छन् ।
पेक पहिले प्रेमलाई परिभाषित गर्छन् । उनका अनुसार अंग्रेजीमा जेलाई ‘फलिङ इन लभ’ भनिन्छ (हाम्रो सुविधाका लागि त्यसलाई नेपालीमा ‘प्रेममा फस्नु’ वा ‘नजरवाला प्रेम’ भनौं), त्यो वास्तविक प्रेम हैन । त्यहाँबाट शुरु भएको दुई व्यक्तिबीचको सम्बन्ध वास्तविक प्रेममा पुग्न पनि सक्छ र नपुग्न पनि । पेकको वास्तविक प्रेमको परिभाषा शुरुमा एकदम जटिल र सैद्धान्तिक प्रतित हुन्छ तर पुस्तकको ठूलो हिस्सा खर्चेर जब उनले त्यसलाई अथ्र्याउँछन्, त्यसलाई बुझ्न गाह्रो हुँदैन ।
उनका अनुसार प्रेमबारे लेखिने नब्बे प्रतिशतभन्दा बढी साहित्यले लगाएका अर्थहरुले वास्तविक प्रेमलाई जनाउँदैनन्, त्यही नजरवाला प्रेमलाई जनाउँछन् । जस्तो कि, एक अर्काप्रति ‘रोमान्टिक’ भावना उत्पन्न हुनु, व्यक्तिको सम्पुर्ण ध्यान र मानसिक ऊर्जा कुनै एक व्यक्तिमा गएर थोपरिनु (क्याथेक्सिस), एक अर्काप्रति तीव्र आकर्षण भएर भेटिराखौं वा बोलीराखौं जस्तो हुनु, अन्य अवस्थामा आफैं गर्न सकिने ससाना कामका लागि समेत एकअर्कामा भर पर्नु, अन्तव्र्यक्ति सम्बन्धमा आफूलाई हराएर एकअर्कामा समाहित हुनु, आदि ।
पेकका अनुसार यस्तो अवस्थामा दुई व्यक्तिको ‘इगो बाउन्ड्री’ भनिने मानसिक व्यक्तित्व पग्लेर एक अर्कासित एकाकार हुन पुग्छन् जसले गर्दा व्यक्तिलाई आफू र प्रेमी वा प्रेमिका एउटै एकाइ बनेको आभास हुन्छ (हेर्नुहोस्, स्केच १ र २) र यथार्थलाई ग्रहण गर्ने क्षमतासमेत कम भएर जान्छ । व्यक्तिको जीवन र संसारलाई हेर्ने नजर नै बदलिन्छ । ‘थ्री इडियट्स’ फिल्ममा वास्तविक प्रेम पत्ता लगाउने उपाय सुझाउँदै अमीर खानले बोल्ने जुन संवाद छ (प्रेम भयो भने बिस्तारै हावा चल्न थाल्छ, ‘स्लो मोसन’मा पछ्यौरा उड्न थाल्छ, आकाशमा चन्द्रमा ठूलो देखिन थाल्छ, आदि), पेकका अनुसार त्यो प्रेममा फसेका बेला हुन्छ तर वास्तविक प्रेमका बेला हैन । पेकका अनुसार संसारभर बनेका अधिकांश सिनेमा र लेखिएका अधिकांश किताबले प्रेमबारे यस्तै सतही, गलत र कति अवस्थामा खतरनाक भ्रम फैलाउने गरेका छन् ।
प्रेम र सम्बन्धका प्रकार र परिणामः
पेकको अलि बोझिलो लाग्ने प्रेमको परिभाषा यस्तो छः द विल टु एक्स्टेन्ड वन्स सेल्फ फर दी पर्पस अफ नर्चरिङ वन्स ओन अर अनोदर्स स्पिरिचुअल ग्रोथ । अर्थात्, साँचो प्रेम भनेको आफ्नो वा अरुको भावनात्मक विकाससँग अनिवार्य रुपमा जोडिएको हुन्छ । उनले थप अथ्र्याएअनुसार प्रेम निरन्तर गरिने कर्मको नतिजा हो जहाँ व्यक्तिले चेतन रुपमै यस्तो प्रयास गर्छ जसका कारण उसको आफ्नै र अर्को पक्षको समेत ‘स्पिरिचुअल डेभलप्मेन्ट’ वा भावनात्मक विकास भइरहोस् र मानवका रुपमा व्यक्ति झनै विकसित भएर जाओस् । यस्तो प्रक्रियामा व्यक्तिको ‘इगो बाउन्ड्री’ पग्लिंदैन बरु बढेर फराकिलो भएर जान्छ ता कि अर्को व्यक्तिको त्यस्तो मानसिक व्यक्तित्वसँग त्यो आंशिक रुपमा खप्टिन पुगोस् । (हेर्नुहोस्, स्केच ३ र ५) त्यो जति बढी खप्टियो, सम्बन्ध उति कसिलो हुन्छ तर नजरवाला प्रेममा झैं त्यो कहिल्यै एकाकार हुँदैन किनकि दुई व्यक्ति जति नै नजिक पुगे पनि उनीहरुबीच केही आधारभुत भिन्नता वा स्वत्व कायम नै हुन्छ ।
दुई जनाको मानसिक व्यक्तित्व पूरै खप्टिने फिल्मी प्रेमको अवस्था अप्राकृतिक हो त्यसैले त्यो लामो समय टिक्दैन । त्यसको स्वभाविक विकासक्रम भनेको ‘इगो बाउण्ड्री’को पुनःविकास हो, जसको नतिजा दुई खालको हुन सक्छ । त्यस खालको यात्रामा आफूहरुबीचका समानता र मतैक्यतामा टेक्दै असमानता र मतभिन्नतालाई समेत स्वीकारेर जाने जोडी बिस्तारै अलि फितलो प्रतित हुने तर दीर्घकालीन प्रकृतिको वास्तविक प्रेमको चरणमा प्रवेश गर्छन् । अक्सर त्यस्तो हुन्छ पनि ।
त्यसको बदला संक्रमण व्यवस्थापनमा चुकेर एकअर्काको फरक अस्तित्वसित डराउने र बलपूर्वक मानसिक व्यक्तित्व पूरै खप्टिएको अवस्था कायम राख्न खोज्ने जोडीहरु भयंकर ठूलो घर्षणको दुश्चक्रमा पर्छन् । त्यसले एक अर्काप्रति असन्तुष्टि, मानसिक प्रताडना र मानसिक तथा शारीरिक हिंसाको अवस्थासमेत निम्त्याउन सक्छ ।
त्यसैले मागी विवाह होस् वा प्रेम विवाह, बिहेपछि दुई जनाबीचको सम्बन्ध वास्तविक प्रेमको दिशामा गयो भने त्यो स्वस्थ र दिगो सम्बन्धमा विकसित हुन्छ जहाँ दुवै जनाले आफूहरुबीचका भिन्नताहरुलाई व्यवस्थापन गर्दै जान्छन् । फलस्वरुप दुई जनाले आफूहरुबीचका भिन्नता (रुचि, व्यवसायिक लगाव, राजनीतिक झुकाव, जीवनदृष्टि, आदिमा हुन आउने भिन्नताहरु)लाई एक अर्काको विशिष्टताका रुपमा स्वीकारेर अघि बढ्छन् । खास किसिमको बिहे भएकै कारण सम्बन्ध कति स्वस्थ र दिगो हुन्छ भन्ने निर्धारित हुँदैन ।
कुनै खालको विवाहमा पनि त्यसको सट्टा दुईमध्ये एकले पूर्ण रुपमा अर्को व्यक्तिमाथि आफूलाई लाद्ने, चरम् परनिर्भरता विकास गर्ने, अप्राकृतिक हदसम्म जोडीमाथि ध्यान दिएर नियन्त्रण गर्न खोज्ने र सबै कुरा आफूले चाहेजस्तो नभएको खण्डमा शंका गर्ने दिशातिर गयो भने त्यो अस्वस्थ र कमजोर सम्बन्धका रुपमा अघि बढ्छ । खास गरी चरम् लैंगिक असमानता भएका र अधिकांश महिलाहरु आर्थिक रुपमा परनिर्भर भएका हाम्रोजस्तो समाजहरुमा त्यस्ता अस्वस्थ सम्बन्धहरुसमेत दशकौं वा आजीवन चलिरहने गर्छन् । त्यस्तो सम्बन्धको बोझ सम्बन्धित जोडीले मात्रै व्यहोर्दैनन्, तिनका बालबच्चाको सिंगो बाल्यकालमा त्यसले गहिरो दुष्प्रभाव छाड्छ र बच्चाहरुसमेत स्वस्थ मानसिक विकासको अवसरबाट वञ्चित हुन्छन् । पेकलगायत धेरै मानसिक रोग विशेषज्ञहरुको अनुभव (पुस्तकमा पेकले त्यस्ता धेरै उदाहरण प्रस्तुत गरेका छन्) अनुसार वयस्क मानिसहरुमा देखिने अनेक खालका मानसिक समस्याहरुमध्ये धेरैको जरो उनीहरुको अप्रिय बाल्यकाल र उनीहरुले त्यो बेला भोगेको अस्वस्थ सम्बन्धको प्रभाव हुने गर्छ ।
त्यसैले अस्वस्थ सम्बन्धबाट गुज्रिरहेका बेखुश जोडीहरुले समयमै आफ्नो सम्बन्धलाई सही बाटोमा नफर्काउनु भनेको अर्को पुस्तालाई समेत मानसिक समस्या र कमसल सम्बन्धको बोझ बोकाउनु हो । पश्चिमा देशहरुमा निकै चलनमा रहेको साइकोथेरापी भन्ने विधिबाट महिनौं लगाएर भए पनि त्यस्ता मानसिक समस्याहरुको हल गर्ने अभ्यास आम भए पनि हामीकहाँ अवस्था निकै फरक र भयावह छ । ठूलो जनसंख्या आधारभुत मानसिक स्वास्थ्य सेवाबाट वञ्चित भएको हाम्रो समाजमा अझै पनि मानसिक समस्यालाई ‘बेइज्जती’का डरले लुकाउने अभ्यास छ र जटिल मानसिक समस्या वा उल्झनमा परेका शिक्षित मानिसहरुले समेत समयमा मानसिक वा मनोरोग विशेषज्ञसित सहयोग लिने अभ्यास आम बनिसकेको छैन, हातमुख जोड्न गाह्रो हुने ठूलो जनसंख्याको त कुरै छाडौं ।
धेरै प्रेम विवाहहरु, खास गरी किशोरकाल वा कम उमेरमा गरिने विवाहहरु अस्थायी प्रकृतिको नजरवाला प्रेममा आधारित हुन्छन् । पेकका कुरा मान्ने हो भने एक अर्कालाई राम्रोसँग बुझ्ने अवसरसमेत नपाई झण्डै आकस्मिक रुपमा सम्बन्ध गाँसिएर हुन जाने त्यस्ता विवाहलाई प्रेम विवाह मान्न पनि गाह्रो हुन्छ ।
बिहे नगरी नजिकको सम्बन्धमा केटा र केटी रहने अवस्थालाई स्वीकार गर्ने पश्चिमा समाजहरुमा जहाँ केटा र केटी वर्षौं बिहे नगरी सम्बन्धमा रहेर एक अर्कालाई चिन्ने गर्छन्, हाम्रो जस्तो समाजमा त्यस्तो आम अभ्यास छैन । त्यसैले पनि हामीकहाँ धेरै प्रेम विवाहहरु एक अर्कालाई राम्रोसित नचिन्दै र शुरुमा एकाकार भएको ‘इगो बाउण्ड्री’ पुनःविकास नहुँदै हुन पुग्छन् । बिहेलगत्तै जब त्यस्तो सीमानाको विकास हुन्छ, त्यसले सम्बन्धमा खटपट ल्याउन पुग्छ र सम्बन्ध असफलतामा टुंगिन सक्छ । त्यसै गरी बिहे भइसकेपछि चित्त नबुझेको वा स्वस्थ वैवाहिक सम्बन्ध निर्माण गर्न नसकेको खण्डमा सम्बन्ध विच्छेद गर्ने अभ्यास आम नहुनुले पनि हामीकहाँ अधिकांश अस्वस्थ र बेखुश सम्बन्धहरु लामो समयसम्म लम्बिएर जान्छन्, त्यो अलग्गै समस्या हो ।
अर्कोतिर वर्षौंको प्रेमसम्बन्धपछि हुने प्रेम विवाहहरुचाहिं अक्सर वास्तविक प्रेममा आधारित हुने, तिनले माथि उल्लिखित संक्रमण पार गरिसकेको हुने र दुवै जनाले आवश्यक शारीरिक र मानसिक परिपक्वता हासिल गरिसकेको हुने हुँदा तिनमाथि बन्ने सम्बन्धहरु अक्सर मजबुत हुने गर्छन् र सम्बन्धमा अनिवार्य रुपमा आउने उतारचढाव झेल्न उनीहरुलाई सहज हुन्छ । सम्बन्ध विच्छेदको दर निकै उच्च हुने भनिएका पश्चिमा समाजहरुमा समेत त्यस रुपमा हुने विवाहहरु आम रुपमा दिगो हुने गर्छन् ।
हाम्रो समाजमा हेर्दाचाहिं के देखिन्छ भने बाल विवाह कायम रहेका केही पिछडिएका समुदायहरुमा बाहेक मागी विवाहहरु धेरै जसो शारीरिक र मानसिक रुपमा परिपक्वता हासिल गरेका व्यक्तिहरुबीच हुन्छन् । साथै यस खालको विवाह गर्दा दुई व्यक्तिको मात्र नभई दुई परिवारबीचको समेत सांस्कृतिक तादात्म्यता हेरिने भएकाले सम्बन्धको संक्रमणकाल तुलनात्मक रुपमा सहज हुने गर्छ, जतिखेर दुई जनालाई वास्तविक प्रेमसम्बन्ध विकास गर्ने अवसर जुर्छ । अक्सर प्रेम विवाहलाई त्यो सुविधा उपलब्ध हुने गर्दैन ।
तर हामीकहाँ हुने दुवै खालका विवाहहरुमा हुने एउटा साझा समस्या के भने महिला र पुरुषबीच असमान आर्थिकगायत शक्ति सम्बन्धका कारण ‘इगो बाउण्ड्री’ खप्टिने बेला महिलाले धेरै सम्झौता गरेर आफूलाई धेरै बदल्ने र पुरुषले चाहिं सम्बन्धमा सकेसम्म बढी आफ्नो स्वत्व लाद्ने र आफूचाहिं नबदलिने प्रवृत्ति हुन्छ जसले गर्दा बलियो र दिगो बनेका सम्बन्धहरुसमेत अनिवार्य रुपमा स्वस्थ र न्यायोचित नहुन सक्छन् ।
निचोडः वास्तविक प्रेमविना वैवाहिक सम्बन्ध स्वस्थ र दिगो हुन सक्दैन । पेकलगायतका मनोविज्ञहरुका अनुसार प्रेम आफसेआफ हुने र आफ्नो बचाउ आफैं गर्न सक्ने चीज हैन । त्यसलाई जीवन्त राख्न सम्बन्धको दुवैपट्टि रहेका व्यक्तिहरुले निरन्तर प्रयास गरिरहनुपर्छ । त्यसका लागि एकअर्काप्रतिको अपेक्षा र यथार्थबीचको सन्तुलन अपरिहार्य भएकाले आफ्नो जोडीप्रतिको आफ्नो अपेक्षालाई निरन्तर समायोजित गर्दै जाने र उसलाई बदल्न चाहेको अनुपातमा आफू पनि बदलिन तत्पर रहने व्यक्तिहरुबीचको सम्बन्ध स्वस्थ र दिगो हुने सम्भावना धेरै हुन्छ । जुनसुकै प्रकृतिको विवाहमा पनि यसप्रकार वास्तविक प्रेम विकास भएर गयो भने त्यो सफल र स्वस्थ हुन्छ । त्यसो हुन सकेन भने दिगो हुँदैमा वैवाहिक सम्बन्ध स्वस्थ हुन्छ भन्न सकिंदैन ।
व्यक्तिको आफ्नै मानसिक विकास र बालबच्चाको मानसिक लालनपालनका हिसाबले असाध्य उपयोगी गाइड मान्न सकिने पेकको पुस्तकमा प्रेमबारे एउटा प्रस्ट सन्देश छः प्रेमको प्रकृतिबारे आफैं अनभिज्ञ तर सतही भावनाका रुपमा प्रेमलाई बिक्री गरेर ठूलो व्यापार गर्न पल्केका सिनेमा र सस्तो साहित्यले यस विषयमा सिर्जना गरेका भ्रमलाई चिर्नु जरुरी छ । साथै शरीरलाई जसरी बेलाबेला विज्ञ डाक्टरको सहयोग आवश्यक हुन्छ, उसरी नै समस्या परेको खण्डमा मनका विज्ञ डाक्टरहरुको सहयोग लिने अभ्यासले आफूलाई मानसिक रुपमा स्वस्थ राख्न मात्र हैन आफ्नो सम्बन्धलाई समेत स्वस्थ राखेर आफ्ना बालबच्चाहरुको स्वस्थ मानसिक वृद्धि र विकासमा सघाउ पुर्याउन सक्छ ।