जनार्दनको राजनीतिक अबिच्युरीः नामका साम्यवादी, कामका महासामन्त
विख्यात फ्रेन्च कथाकार गि डे मोपासाँको विश्व विख्यात कथा छः बुल डि सुइफ । कथाले सन् १८७०–७१ मा भर्खर प्रसियासित हारेको फ्रान्सको समाजलाई ऐना देखाउँछ ।
पराइ देशसित हारेर थकित र गलित फ्रान्सको रुआँ शहर अतिक्रमणकारी प्रसियनहरुको कब्जामा परेपछि त्यहाँबाट भाग्दै गरेका छन् दश जना । समाजका दशै कित्ताका प्रतिनिधि । तीमध्ये एक देहव्यापार गर्ने युवती पनि छन् ।
घोडागाडीमा भाग्दा ती युवतीबाहेक सबै जसोले खानेकुरा हाल्न बिर्सेका छन् । तर मौसम बिग्रेका कारण गाडी बीचमै रोकिन्छ । मानिसहरु भोकभोकै पर्छन् । युवतीले पोको फुकाएर स्वादिलो खानेकुरा सबैलाई बाँड्छिन् । सबै खुशी हुन्छन् र उनको प्रशंसा गर्छन् ।
तर लगत्तै उनीहरु भुलवश प्रसियनहरुको कब्जामा रहेको शहरमा पुग्छन् । त्यहाँका प्रसियन सेनाले युवतीमाथि आँखा लगाउँछन् र समुहसित शर्त राख्छन्ः जबसम्म तिनलाई हामीसित सुत्न पठाइदिंदैनौ, तबसम्म तिमीहरु यो ठाउँ छाड्न पाउँदैनौ ।
समुह क्रुद्ध भएर विरोध गर्छ । तर तिनीहरुको क्रोध र धैर्यता लामो समय टिक्दैन । एकाध घण्टापछि बाँकी नौ जना युवतीसित गिड्गिडाउन थाल्छन्ः उनीहरुले भनेको मानिदेऊ, अनि हामी निस्कन पाउँछौं ।
युवती डेग चल्दिनन् । उता सबैको काम बित्दै जान्छ र गन्तव्यमा पुग्न हतार हुन्छ । उनीहरु बिस्तारै युवतीसित क्रुद्ध हुन्छन् र उनलाई गाली गर्न थाल्छन्ः तिमीले खुरुक्क उनीहरुको शर्त नमान्दा हामी सबैको बिचल्ली भयो ।
त्यसपछि के हुन्छ भनेर बुझ्न अंग्रेजीमा पूरै कथा यहाँ सुन्न (
र पढ्न सकिन्छ ।
तर यहाँ भने नेपालका महान् क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुमध्ये एक माओवादीका नेताहरुको रवैयाले मलाई यो कथा सम्झाएको हो । तीमध्ये जनार्दन शर्मा मन्त्रीबाट हटेसँगै अहिले उनको ‘लिगेसी’माथि छलफल भइरहेको छ । त्यो छलफलबाट एउटा महत्वपुर्ण विषय नछुटोस् भन्ने मेरो आशय हो ।
तत्कालीन माओवादीले रोल्पा र रुकुमबाट ‘जनयुद्ध’ शुरु त गर्यो तर लगत्तै उसको सशस्त्र अभियान हिमपातबीच बाटोमा फसेको मोपासाँको घोडागाडीजस्तो बनिसकेको थियोः अघि जाऊँ राज्यसत्ता उल्टाउने गरी सैन्य तागत बटुल्न असम्भव छ, पछि फर्कौं तबसम्म दिइएको बलिदानी बेकारमा जाने र मानिसहरुले जवाफ खोज्ने खतरा उत्तिकै छ ।
जसरी कथामा बुल डे सुइफले हिमपातबीच पोको फुकाएर बाँकी नौ जनाको ज्यान जोगाएकी थिइन्, उसै गरी नेपालमा पनि वर्गीय मुद्दाका लागि हुरुक्क नभइसकेका जनजाति, दलित, मधेशी र अरु पिछडिएका समुदायहरुले माओवादी आन्दोलनलाई आफ्नै काँध दिएर जोगाइदिए ।
त्यसबीच दुई पक्षबीच अघोषित करार यस्तो बन्योः समुदाय विशेषले रगत बगाएर भए पनि माओवादीलाई साथ दिने, माओवादीले त्यसको बदलामा उनीहरुले परम्परागत रुपमा भोग्दै आएको विभेद र उत्पीडन अन्त गर्नका लागि लड्ने ।
करारको एक पक्षले इमानपूर्वक युद्धमा पसिना र रगत बगायो । माओवादीको क्रान्ति सफल नभए पनि सत्तारोहण त्यसकै बलमा सफल भयो । पिछडिएका समुदायहरुले स्वभावतः माओवादी पक्षले करारप्रति इमान्दारी देखाउने अपेक्षा गरे ।
तर अहिले नेपालको माओवादीको अवस्था प्रसियाको कब्जामा फसेका फ्रेन्च यात्रीहरुको जस्तै छ । उनीहरुलाई गन्तव्यमा पुग्न हतार छ र अल्मलिनलाई समय छैन । त्यसैले उनीहरुमा गन्तव्यमा पुग्ने छट्पटी छ तर बाँकी कुनै कुरा हासिल गर्ने हुटहुटी बाँकी छैन ।
विडम्बना के भने, उनीहरुको गन्तव्य न्याय हैन समृद्धि छ, त्यो पनि देश र समाजको हैन नेताहरुको । समृद्धिका लागि सत्ता आवश्यक छ । सत्ताका लागि भोट । भोटका लागि भोट बैंक ।
रुकुममा जनार्दन शर्माको भोट बैंक छ । त्यसमा कथित उच्च जातका मानिसहरुको वर्चस्व छ । भोट माओवादीलाई दिए पनि उनीहरुका वैचारिक गुरु माओ हैनन्, मनु हुन् । उनीहरुका विचारमा दलितहरु उच्च जातसित बिहे गर्न हैन उनीहरुका हातबाट वीभत्स रुपमा मारिन योग्य छन् ।
सवा दुई वर्ष अगाडि रुकुम आम संहारलाई भवितव्य भनेका कारण शर्मा चर्चामा आएका थिए । उनलाई तबसम्म आशाका दृष्टिले हेर्ने मजस्ता धेरैको उनीसित मोहभंग भएको थियो ।
तर नवराज विक र उनका साथीहरुको हत्या भएको दोस्रो वार्षिकीमा भेरी पुगेर फर्केपछि खगेन्द्र संग्रौला लगायतका साथीहरुको अनुभव पढेपछि फेरि एक चोटि मेरो आङ सिरिग भयो । जस्तो कि, खगेन्दाइको लेखको यो अंशः
‘‘रुकुम हत्याकाण्डको प्रसङ्गमा जब पीडकलाई दण्ड र पीडितलाई न्यायको कुरा उठ्छ, पीडितहरूका दिमागमा हठात् एउटा अप्रिय अनुहार प्रकट हुन्छ । र, ती झसङ्ग हुन्छन् । खासमा त्यो अनुहारले तिनलाई त्यसैत्यसै भयभीत तुल्याउँछ । कसको अनुहार हो त्यो ? असलमा त्यो रैथाने माओवादी नेता जनार्दन शर्माको अनुहार हो ।
जब रुकुम हत्याकाण्ड घट्यो, हत्तपत्त अघि सरेर जनार्दनले भने–जो मारिए, ती दोहोरो मुठभेडमा मारिए । ती भाग्दा नदीमा डुबेर मरे । यो घटना जो घट्यो, यो भवितव्य हो । मारिएका गणेश बुढा मगरकी आमा राधिका जनार्दनको प्रतिवादमा भन्छिन्, ‘कोहीले हँसिया, कोहीले बन्चराले हानेका छन् । यो कसरी भवितव्य हो ?’ मारिएका सञ्जुकी आमा पार्वती आक्रोश पोख्छिन्, ‘ढुङ्गामुढा, खुकुरी र झटाराले हानेर हाम्रा छोरा मारिएका छन् । यो कसरी भवितव्य हो ?’’’
पीडितहरुको बुझाइ यस्तो देखिन्छः जनार्दनले शुरुमा सामुहिक हत्याकाण्डलाई भवितव्य मात्रै बनाएनन्, त्यसपछि आजका दिनसम्म पीडितलाई न्याय पाउनबाट पनि वञ्चित गरेका छन् । कारणः न्यायालयमा दलहरुको विनाशकारी छायाँ छ । न्यायधीश नियुक्तिमा दलीय भागवण्डा छ । त्यसैले न्याय पनि सौदावाजीको विषय बनेको छ ।
मोपासाँको कथामा आपतविपत पर्दा उद्धार गरेकी युवतीलाई कथित सम्मानित वर्गका मानिसहरुले शुरुमा प्रशंसा गर्छन् । उनीमाथि अन्याय पर्दा शुरुमा विरोध पनि गर्छन् । तर जब उनका लागि आफूले पनि ससानो योगदान पुर्याउनुपर्छ वा असुविधा भोग्नुपर्छ, तब उनलाई आगोमा झोसेर आफू त्यसबाट उम्कने प्रयास गर्छन् ।
नेपालमा पनि माओवादीले कुनै बेला किनारामा पारिएका उत्पीडित समुदायहरुलाई गोलबद्ध गरे । ती समुदायहरुले माओवादीलाई सत्तामा पुर्याए । सत्तामा हुँदा होस् या सडकमा माओवादीले दलित मुक्ति र छुवाछुत उन्मुलनको ओठे नारा लगाउन र भाषण गर्न छाडेनन् ।
तर जब मामला चुनाव, भोट बैंक, सत्ता र शक्तिको आयो, जनार्दन शर्मा लगायत सिंगो पार्टीले उत्पीडित समुदायलाई विभेद र उत्पीडनकै आगोमा झोसिदिनु अगाडि दुई पल्ट सोचेनन् । त्यसो गर्दा आफूहरु नाममा माओवाद राखे पनि मुलुकी ऐन लागू गर्ने जंगबहादुरवादी बनिन्छ भन्ने हेक्का पनि उनीहरुलाई रहेन ।
कुनै बेला यिनै माओवादीले भन्थेः संसदीय व्यवस्था खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने व्यवस्था हो । तर आज उनीहरुको राजनीति त्यही व्यवस्थामा दलित, दमित र उत्पीडितहरुका टाउका फुटाएर संहार गर्नेहरुलाई खुशी तुल्याएर चुनाव जित्नमा सीमित भएको छ ।
चिया पसलदेखि सामाजिक सञ्जालसम्म अहिले मानिसहरुले जनार्दन शर्माप्रति अनेक टिप्पणीहरु गरिरहेका छन्ः असफल अर्थमन्त्री, बजारविरोधी अर्थमन्त्री, सीमित व्यवसायी वा घरानाको अर्थमन्त्री, फुटेज मेटाउने अर्थमन्त्री, आदि । तर ती सबैभन्दा महत्वपुर्ण उनको परिचय बन्न पुगेको छः उत्पीडक दलितद्वेषी मनुवादी ‘कम्युनिष्ट’ । अर्थात् एक वामपन्थी महासामन्त ।
कारणः यस अघि पनि धेरै भ्रष्ट र असफल अर्थमन्त्रीहरु आए र गए तर यत्तिकै लाज पचाएका बामपन्थी महासामन्त अहिलेसम्म आएका थिएनन् ।